चलचित्र “के” युकेमा प्रदर्शन हुँदै

प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६

पाँचथरः लिम्बू समुदायको संस्कृतिक मूलक फिल्म ‘केः’ युकेमा प्रदर्शन हुने भएको छ । आगामी अक्टोबर २२ मा युकेमा विशेष प्रदर्शन हुन लागेको हो ।

हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई युके निवासी नेपालीहरुले त्यहाँ प्रदर्शन गर्न लागेको हो । सागर केरुङ निर्देशित फिल्म ‘केः’मा लिम्बू समुदायको सांस्कृति बाजा ‘केः’ अर्थात च्याबु्रङ बनाउन अनिवार्य चाहिने गाई–गोरुको छाला र राज्यले गाई–गोरु मार्न प्रतिबन्धित कानूनी प्रावधानबीच अन्तरद्वन्द्वलाई समेटिएको छ ।

निर्देशक केरुङकै लेखक रहेको यो फिल्म याक्थुङ फिल्मस प्रा.लि.को लागि टाइसन केरुङले निर्माण गरेका हुन् । फिल्ममा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाँकन र प्रेम पन्दाकको संगीत रहेको छ ।

फिल्म ‘केः’मा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।