सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप

प्रकाशित मिति : सोमवार, अशोज १३, २०७६

काठमाडौं : शालीन एवं भद्र स्वभावका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् ।

सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । एक कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाइन् ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन् ।

दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको उनले बताइन् ।

प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । बानेश्वर प्रहरीले भने यसबारे कुनै जाहेरी नआएको भन्दै प्रतिक्रिया दिन अश्वीकार गरेको छ ।

सभामुख महरा भन्छन्– उहाँले समायोजनको रीस पोख्नुभएको मात्र हो । सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको बताए । कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको सभामुख महराले स्पष्ट पारे ।

सभामुख महराले भने, ‘यो केही होइन, समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइदिनुपर्‍यो भन्ने वहाँ, तर अब समायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै दरबन्दी छैन स्वास्थ्यको । यसैमा उहाँले हाम्रोचाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।’ समायोजनको रीस पोख्नुभएको मात्र हो ।

महरालाई तीनकुनेमा डेरा गरी बस्ने महिलाले जर्बजस्ती गरेको आरोप लगाएकी छिन् । महिलाले आफूमाथि जर्बजस्ती भएको प्रमाणसहित प्रहरीमा उजूरी दिने बताएकिछिन् । घटनास्थलमा महराको फुटेको चश्मा समेत फेला परेको दाबी गरिएको छ । महिलाले महराको फुटेको चश्मा हाम्राकुरा अनलाइनबाट सार्वजनिक गरिसकेकी छिन् ।

महराले तीनकुनेस्थित महिलाको डेरामा पुगेको स्वीकार गरेपनि जर्बजस्ती नभएको दाबी गरेका छन् । तर, उनीमाथि महिलालाई चुप लाग्न दबाब दिइएको उल्लेख छ । यस घटनाले गम्भीर रुप लिएको छ ।

जर्बजस्ती काण्डमा सभामुख महरा मुछिएपछि उनीमाथि राजीनामाको दबाब बढेको छ । सभामुख जस्तो गरिमामयी पदमा पुगेको व्यक्तिले महिलालाई उनकै कोठामा गई जर्बजस्ती गरेपछि राजीनामाको दबाब बढेको हो ।

तत्कालिन माओवादी केन्द्रबाट सभामुख निर्वाचित महरा विगतमा पनि विवादमा आएका थिए । उनले चिनियाँ व्यापारीसँग पैसाको लेनदेन गरेको अडियो टेप बाहिर आएको थियो । तर उनीमाथि कुनै कारबाही हुन सकेन ।

रोल्पा स्थायी घर भएका महरा बहुदलपछिको पहिलो निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए । त्यसपछि भूमिगत माओवादीमा लागेका उनी शान्ति प्रक्रियापछि सत्ताको वरिपरि रहे । माओवादी अध्यक्ष प्रचण्डको नजिक रहेर काम गर्दै आए । महरा टेपकाण्डमा बचेपनि यसपटकको महिलामाथि जर्बजस्ती काण्डमा बच्न कठिन भएको उनकै दलका एक प्रभावशाली नेताले बताए । उनलाई नेकपाभित्रबाट राजीनामाको दबाब दिइसकिएको छ ।