अन्ततः सभामुख महराले दिए राजीनामा, राजीनामा हास्यास्पद, पूर्वसभामुख नेम्वाङकाे यस्ताे प्रतिक्रिया

प्रकाशित मिति : मङ्लबार, अशोज १४, २०७६

काठमाडौंः यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले बताए ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

महराको शर्तको अर्थ छैन, सभामुख पद रिक्त भयो !

यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले भनेका छन्, ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज जोस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

महराले उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरिएको छ ।
सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ले महराको राजीनामा शर्तसहितको भएको जिकिर गरेका छन् । राजीनामा पत्रको व्यहोराबारे प्रश्न उठेपछि मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन । सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ।’

सभामुखले आफूमाथि लागेको गम्भीर आरोपबारे अनुसन्धानमा सघाउन छानविन अवधिसम्म सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिएको मल्लले बताए । ‘यसले छानविन प्रक्रियालाई सहयोग पुर्‍याउँछ’ उनले भनेका छन् ।

संविधानका जानकार भन्छन्– सभामुख पद रिक्त भयो !

महराले आफ्नो रानीनामामा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ शर्त राखे पनि राजीनामा शर्त राखेर नहुने संविधानविदहरु बताउँछन् । संविधानविद विपीन अधिकारी भन्छन्, ‘राजीनामा शर्तसहित हुँदैन ।’

पूर्वसभामुख तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सभामुखको राजीनामा सशर्त नहुने बताए ।
नेम्वाङले भने, ‘सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनासाथ त्यो पद रिक्त हुन्छ । के भनेर, कस्तो भाषा प्रयोग गरेर राजीनामा दिइयो भन्ने कुरा गौण हुन्छ ।’

नेकपा सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिसभा सदस्य दुवै पदबाट राजीनामा गर्न भनेको थियो । महराले सभामुखको राजीनामा शर्त राखेका छन् भने सांसद पदबाट राजीनामा दिएका छन् । तर, संसदीय दलका उपनेता नेम्वाङले भने पार्टीको आँखामा महरा अब सांसद पनि नरहेको बताए ।