सिन्धुपाल्चोक बस दुर्घटनामा ६ जनाको मृत्यु, घाइतेको उद्धार गरिँदै

प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०७६

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको बस भोटसिपाको  मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेको संख्या ६ पुगेको स्थानीय होमप्रकाश चौलागाईंले जानकारी दिए ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो ।

बसमा ७० जनाभन्दा बढी यात्रु रहेको र ३० जना गम्भीर घाइते रहेको उनको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दसैँ मनाएर फर्कंदै गरेका यात्रु भएकाले बसमा कति सवार थिए भनेर यकिन हुन सकेको छैन । हताहतीको संख्या बढ्न सक्ने स्थानीयको आँकलन छ । बस सडकबाट दुई सय मिटर तल खसेको छ । गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।