आदिवासीहरुको उत्कृष्ट चलचित्र “के” मलेसियामा प्रदर्शन हुँदै

प्रकाशित मिति : बुधबार, मंसिर ४, २०७६

लिम्बू समुदायको सांस्कृतिकमूलक फिल्म ‘के’ मलेसियामा प्रदर्शन हुने भएको छ । यही नोभेम्बर 8 देखी मलेसियाको विभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको हो । हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६’ मा ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई किरात याक्थुङ चुम्लुङ मलेसियाले प्रदर्शन गर्न लागेको हो ।

सागर केरुङ निर्देशित फिल्म ‘के’मा लिम्बू समुदायको सांस्कृति बाजा ‘के’ अर्थात च्याब्रुङ बनाउन अनिवार्य चाहिने गाई–गोरुको छाला र राज्यले गाई–गोरु मार्न प्रतिबन्धित कानूनी प्रावधानबीच अन्तरद्वन्द्वलाई समेटिएको छ । निर्देशक केरुङकै लेखक रहेको यो फिल्म याक्थुङ फिल्मस प्रा.लि.को लागि टाइसन केरुङले निर्माण गरेका हुन् ।

फिल्ममा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाँकन र प्रेम पन्दाकको संगीत रहेको छ । फिल्म ‘केः’मा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपानेलगायतका कलाकारको अभिनय छ । किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक तङ्नाम ५०७९ को उपलक्ष्यमा चलचित्र प्रदर्सनसँगै विविध कार्यक्रमहरु आयोजना गरिएको अध्यक्ष दिल केरुङले बताए ।