‘समयको आयु’ कृतिमाथि दमकमा विमर्श

प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६

दमकः अष्ट्रेलिया निवासी स्रष्टा दुर्गा प्रसाद रिमालको रुबाई विधाको कृति ‘समयको आयु’ माथि दमक स्थित होटल एस जी को सभाहलमा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमा बोल्दै नेपाली साहित्यमा रुबाई विधाका प्रमुख अभियन्ता प्रकाश आङदेम्बेले भने । “रुबाई अरबिक, पर्सियन, अँग्रेजी हुँदै नेपाली साहित्यमा भित्रिएको विधा हो । यो विधालाई हामीले नेपाली साहित्यमा उसकै अस्तित्वमा स्विकार्नुपर्छ । संसारमा कुनै पनि कुरालाई साँघुरो परिधीवाट मात्र बुझ्नु हुँदैन । विधा जुनसुकै होस । हामीले हाम्रो अस्तित्व, पन, शैली, विचार र सँस्कृति अनुकुल प्रयोग गर्ने हो । दुर्गाले भूटान, शरणार्थी, शिविरदेखि अष्ट्रेलियन नागरिक भएसम्मको अनुभुति अटाँएर सृजनामा नौलो अनुभुति बढाएकोमा बधाइ दिन्छु ।” अर्का वक्ता साङसेन वरकले भने । “उमर खैयामले मन्दिर, मस्जिद, चर्च आदिभन्दा भट्टी महान छ भने । उनको तर्क थियो, कि भट्टीमा कसैलाई पनि निषेध हुन्न । यसको मतलव उनले स्थापित मानकमाथि प्रश्न गरे । रुबाईले मानक, सत्तामाथि प्रश्न गर्न सिकाउँछ । दुर्गाका रुबाईले पनि यस्तै प्रश्न गर्छ ।” कार्यक्रममा सभापति कवि/गजलकार सुन्दर कुरुपले भने “तेस्रो देश पुनर्वास भएका भूटानी स्रष्टाहरुले सृजना गरेका साहित्य नै वास्तवमा डायस्परिक साहित्य हो ।”

स्रष्टाको रुबाई गजलकार लोकेन्द्र बन्जारा, कृष्ण काष्यप, राजकुमार अनिष्चित, तिलाश्री तिम्सिना लगायतले बाचन गरेका थिए । स्रष्टा रिमालको यसअघि गजल सङग्रह ‘भूगोलको नासो’ प्रकाशित भइसेको छ । उनले अष्ट्रेलिया भरिका तेस्रो देश पुनर्वास भएका नेपालीभाषी भूटानीहरुको प्रतिनिधि गजल सङग्रह ‘कँगारुको देशवाट’ पनि सम्पादन गरेका छन् ।