भट्टराईहरुको बृहत देवाली (कुलपुजा) मंसिर १९ बाट काठमाडौं स्यूचाटारमा हुँदै

प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६

काठमाडौंः भट्टराईहरुले मंसिर १९ गतेबाट देवाली (कुलपुजा) गर्ने भएका छन् । नागार्जुन नगरपालिका वडा नम्वर ९ स्यूचाटार भट्टराई गाउँ काठमाडौंमा मंसिर १९ गतेबाट मंसिर २५ गते सम्म बिबिध कार्यक्रमका साथ पुजाआजा गरि देवाली (कुलपुजा) गर्न लागेको हो ।

देवाली (कुलपुजा) सभ्य भब्य सम्मन्न गर्नका लागि पाँचसय एक जनाको कुलपुजा मूल समिति समेत बनाएको आद्येमष्ट वारमण्डली भट्टराई सेवा समाजका केन्द्रिय सदस्य तथा कुलपुजा मूल आयोजक समितिका सदस्य धनन्जय भट्टराईले बताउँनु भयो । संयोजकमा कृतनकृष्ण भट्टराई, उपसंयोजकमा डा. होम प्रसाद भट्टराई सहित पाँचसय एक जनाको कुलपुजा मूल आयोजक समिति बनेको हो । उक्त पूजामा सतहत्तर जिल्लाबाट आई काठमाडौं उपत्यका भित्र बस्नुहुने तथा काठमाडौं उपत्यका भित्र बसोबास गर्नु हुने सम्पूर्ण भट्टराई बन्धुहरुमा कुलपुजाको लागि उपस्थित हुन अनुरोध गरिएको कुलपुजा मूल आयोजक समितिका उपसंयोजक तथा आद्येमष्ट वारमण्डली भट्टराई सेवा समाजका केन्द्रिय अध्यक्ष डा.होम प्रसाद भट्टराईले बताउँनु भयो ।

मूल आयोजक समितिका सदस्य धनन्जय भट्टराईका अनुसार भट्टराईहरुका कुलदेवता आद्येमष्ट र वारमण्डली हुन् । इष्टदेवका रुपमा कोही बिन्धबासिनी, कोही भुवनेश्वरी, कोही त्रिपुरासुन्दरी आदि ठाउँ अनुसार फरक फरक मान्ने चलन छ । धामी धवन्तरी सहित वेद, रुद्री, चण्डी, पाठ, जप, होम गरेर पुरश्चरण सहितको देवाली गरिन्छ । तिन तिन बर्षमा देवाली गर्ने चलन अनुसार यस बर्ष गर्न लागिएको हो । देवालीको अन्तिम दिन छुट्टै ठाउँमा मण्डपवारी बली गरिन्छ ।
बली गर्ने वा नगर्ने त्यो आ आफ्नो इच्छा हो । बली गर्नेले निखुनी एकरंगी कालो वा सेतो बोका गर्नु पर्छ भने बली नगर्नेले फलफूल, अक्षता, भेटी, ध्वजा पताका, नैबेध, घण्ट, चम्मर आदिले गर्नुपर्छ । उहाँ भन्नु हुन्छ सबै बन्धु बान्धव एकै ठाउँमा मिलेर पूजा गरौं यो सबै बन्धु बान्धव भेटघाट गर्ने अबसर पनि हो ।

कुलपूजा कार्यक्रम यसरी तय गरिएको छः
देवालीः २०७६ मंसिर १९ गतेबाट २५ गते सम्म
स्थानः नागार्जुन नगरपालिका वडा नम्वर ९, स्यूचाटार, भट्टराई गाउँ, काठमाडौं
पुरश्चरण शुभारम्भः २०७६ मंसिर १९ गते देखि
होमहोमादिः २०७६ मंसिर २३ गते
बिधिवत मण्डव तयारः २०७६ मंसिर २४ गते
बोका पर्सनेः २०७६ मंसिर २४ गते बेलुका
दीपावलीः २०७६ मंसिर २४ गते साँझदेखि रातभर
बली तथा समापन र प्रसाद वितरणः २०७६ मंसिर २५ गते
प्रत्येक साँझ कुलदर्शन तथा भजन किर्तन ।

उक्त पूजामा भट्टराई बन्धु मात्र नभएर अन्य थरका ब्यक्तिहरु पनि सहभागी हुन सक्ने प्रचलन रहेको छ ।