राजपा–नेकपा चुनावि समझदारी

प्रकाशित मिति : बिहिबार, पुस ३, २०७६

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकका अधिकांश सहभागीलाई बुधबार साँझ बालुवाटारमा के हुँदैछ भन्ने कुनै अनुमान थिएन । अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ धुम्वाराहीबाट सिधै बालुवाटारतर्फ लागे ।

स्थायी कमिटी बैठकमा पाइला पनि नराखेका प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिएर हिँडेको राजपाका शीर्ष नेतालाई बालुवाटारमा बोलाइसकेका थिए ।

केहीबेरमै दुई पार्टीबीच सुवास नेम्वाङका शब्दमा ऐतिहासिक सहमति भयो । त्यो दुईबुँदे सहमति नेकपासँगै सत्ता सहकार्य गरिरहेको समाजवादी पार्टीलाई मात्र होइन, प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि पनि झड्का दिने ‘सरप्राइज्ड’ थियो । तथापि, नेकपा उपनेता नेम्वाङले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा रिक्त चारसिटमध्ये एक–एक सिट बाँड्नेसम्मको अनौपचारिक संकेत यसअघि नै दिइसकेका थिए ।

१८ सीटमा चुनाव हुँदै, प्रदेश २ बाट चारजना

राष्ट्रियसभाका कुल ५९ सदस्य मध्ये गोला प्रथाबाट १९ जनाको कार्यकार्य दुई वर्ष तोकिएको थियो । यीमध्ये १८ सदस्यका लागि आगामी माघ ९ मा चुनाव हुँदैछ ।

राष्ट्रियसभामा जुन प्रक्रियाबाट निर्वाचित सदस्यहरुको सीट रिक्त हुन्छ, सोही प्रक्रियाबाट रिक्त स्थान पूर्ति हुने संवैधानिक प्रावधान छ । जस्तै– राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका अर्थमन्त्री डा. युवराज खतिवडा ठाउँमा राष्ट्रपतिबाटै नयाँ सदस्य मनोनित हुनेछन् । प्रदेशगत प्रतिनिधित्व गर्नेहरुको हकमा प्रदेशबाटै चुनिनुपर्ने छ ।

माघ ९ को निर्वाचनबाट छानिने १८ सदस्यमध्ये प्रदेश २ का जनप्रतिनिधिले चारजना राष्ट्रिय सभा सदस्य छान्नेछन् । यसअघि प्रदेश २ बाट छानिएकामध्ये राजपाका दुईजना र कांग्रेस÷समाजवादीका १/१ सीटमा यसपालि नेकपा र राजपाले २/२ सीट लिने गरी प्रदेश २ का लागि गठबन्धन गरेका छन् ।

यसअघि प्रदेश २ बाट निर्वाचित राजपाका रमेशप्रसाद यादव र वृशेषचन्द्रलाल यादव, समाजवादीका रामप्रीत पासवान र कांग्रेसका मुक्ताकुमारी यादवको ठाउँमा यसपटक नेकपा र राजपाले भागवण्डा गरेर कांग्रेस र समाजवादी पार्टीलाई रित्तो बनाउने चाल रचेका छन् ।