‘इन्काउन्टर’ को फस्ट लुक्स तथा बारुली गीत सार्बजनिक, रिलिज चैत्र १४

प्रकाशित मिति : बिहिबार, पुस २४, २०७६

काठमाडाैंः चैत्र १४ गते रिलिज मिति तयारी गरेको चलचित्र ‘इन्काउन्टर’ को फस्ट लुक्स तथा  गीत रिलिज भएको छ । काठमाडौंमा एक कार्यक्रमको बिच उक्त पोस्टर तथा बारुली गीतको रिलिज गरेको हो । सबिता रेग्मीले मर्काएको बारुली कम्मरमा सबिन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश डिसि, दिनेश जंग लगायतलाई देख्न सकिन्छ । नारायण नेपालको शब्द सूर्य कमल राईको संगीतमा मीना निरौलाको स्बरको उक्त गीतलाई साइमन राजबंशीले कोरियोग्राफर गरेका हुन् ।

गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ । समारोहमा प्रमुख अतिथि अग्रज पत्रकार ऋषि धमलाले औपचारिक रूपमा गीत रिलिज गरेका हुन् । कार्यक्रममा पत्रकार धमलाले भ्रष्टाचारीहरूलाई कानूनी दायरामा ल्याउन प्रेरित गर्ने सन्देशसहितको फिल्म निर्माण गर्न निर्माताहरूलाई आग्रह गरेका छन् । ‘इन्टाउन्टर चलचित्रले दर्शकको मन जित्न सफल हुने मेरो विश्वास छ, नेपाली सिने जगतमा यो फिल्मले नयाँ सन्देश र नयाँ मानक स्थापित गर्छ भन्ने मेरो आशा र बिश्वास हो,’ धमलाले भने ।

फिल्मका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले फिल्म इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने बताउँदै नवीनतम् सन्देश र संकल्पसहितको फिल्म निर्माणमा आफ्नो टिम लागेको उल्लेख गरे । ‘आमा फिल्मपछि नेपाली चलचित्र उद्योगमा कयौं फिल्म बने, हजारौं कथाहरू लेखिए, तर पृथक फिल्म निर्माण गर्न नसकेको आरोपबाट इन्डस्ट्री मुक्त भएन,’ ओझाले भने, ‘त्यही गुनासो सम्बोधन गर्नकै लागि हामीले इन्काउन्टर फिल्म निर्माण गरेका हौं ।’

कार्यक्रममा चर्चित अधिवक्ता स्वागत नेपालले फिल्म ‘इन्काउन्टर’को सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । उनले राष्ट्रियताका सवालमा यो चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार ब्यक्त गरे । कलाकार विपना बस्नेत, निर्माता दिनेश खड्का, कलाकार राजन गुरुङ लगायतले फिल्मका विविध पक्षको समीक्षा गरेका थिए ।

चैत्र १४ गते नेपालमा रिलिज हुने चलचित्रको नेपाल रिलिज अगाबै मलेशिया, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशहरुमा च्यारिटि गरिने निर्माण पक्षले जनाएको छ । बरिष्ट पत्रकार कृष्ण भट्टराईको संबाद रहेको इन्काउन्टरको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एन बी अन्जान) को रहेको छ । चलचित्रलाई कुमार ओझा, कबिभक्त क्षेत्री, दिनेशजंग लगायतले निर्माण गरेका हुन् । इन्काउन्टरमा दिनेश डिसि, सबिन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेशजंग, फुर्वा दोर्जे तामाङ, दिपक क्षेत्री, बि एस राणा, शुशिल पोखरेल, सुबास गजुरेल, सुनिल कटुवाल, बिपना बस्नेत, ध्रुव श्रेष्ठ, साबित्रा थिङ, राजन गुरुङ, सुरेश थापा दर्शने, बिनोद राई घ्याम्पे सुब्बा, सारदा अधिकारी काली बुढी, राधिका लगायतको दमदार अभिनय रहेको छ ।