कविताः अनुत्तरित विभ्रम

एन. बी. अन्जान प्रकाशित मिति : बिहिबार, फाल्गुन १, २०७६

अनुत्तरित विभ्रम

एन.बी.अन्जान

 

 

परिवर्तनका संघारमा
ती दिनहरु उभिए
नौटंकी खेलहरु रचिए
दुलामा छिर्दा गड्यौला र
बाहिर निस्कदा अजिंगर
बन्नेहरुको होडमा
कालोलाई सेतो र
सेतोलाई कालो पारियो
सबैलाई लठ्ठ मन्त्रमुग्ध पारि
मकुराले झैं जाल थापियो ।
जाडलाई छपनिले छान्दा जाड र
रुमालले छान्दा दुध हुदैन
जाडलाई दुध पारियो
खोस्टा जाड बनाउन फेरी घ्याम्पोमा हालियो
आखाँमा छारो हानियो
हो होरिमा सबैले
जादुवालाको जादुमा झैं ताली बर्साए
तर अभिषाप्
तालीको महत्व खै कहाँ छ ?
यहाँ चुथ्रोको हाँगा मात्र फेरिएको छ
काँडा उहि छ
चस्काइ उहि छ
चाल उहि छ
यहाँ फेरी
उहि नै कालरात्री दोहो¥याइन्छ
कराँए, चिच्याए कसैले सुनेनन्
सुन्नेले उल्लु पारे
गरीबका दिन फिर्यो भने
मैले अलिकति पुच्छर छिर्यो भनेँ
अरु जयजयकारमा रमाए
मैले पुर्पुरो समाएँ
मातृभूमीमा तप्प आसु झारेँ
सबैले अस्त्रसस्त्र फ्याके, मिल्काए
झुुमे खुशियालीमा नाचे, रमाए
तर म भित्र भित्रै दुखिरहेँ
दुनियाले मलाई पागल भन्यो
मैले दुनिया पागल भनेँ
दुधको साँची बिरालो राख्नुको अर्थमा ।
चिराइतो टोकेर
लालीपपको आभाष हुदै हुदैन
त्यो क्रान्ती कहाँ भयो ?
जो गरीबसँग जोडिएको छ
जो भोकानाङ्गासँग जोडिएको छ
जो मजदुरसँग जोडिएको छ
जो किसान, ज्यामी, भरियासँग जोडिएको छ
यहाँ त केवल
आफ्नो दुनो सोझ्याउने क्रान्ती भयो, भइरह्यो
साढेले बाच्छा मिच्ने परिवर्तन भयो, भइरह्यो
त्यसैले त सबैले फ्याकेका
अस्त्र सस्त्र समाएँ, उचाले

खिया पुछेँ ।