तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

प्रकाशित मिति : बुधबार, असार २५, २०७६

सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए ।

न्यायाधीश भट्टराईको इजालसले अन्तरिम आदेश दिँदै अहिलेकै अवस्थामा तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न आदेश दिएको हो । अदालतले सरकारका नाममा भन्सारमा परीक्षणको व्यवस्था गर्न आदेश दिँदै दुवै पक्षलाई असार ३० गते उपस्थित हुन पनि भनेको छ। सरकारले भारतीय दवाबमा परेर सीमामा विषादी परीक्षण रोकेपछि उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले यस विषयमा तीनवटा रिट हालेका थिए।

‘मिति २०७६ असार २ को राजपत्रमा प्रकाशित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना विपरीत हुने गरी नेपाल सरकारले असार १८ मा गरिएको निर्णय संविधान र कानुनका व्यवस्थाको के कति अनुकूल हुन्छ भन्ने प्रश्न उत्पन्न भएको छ’, आदेशमा उल्लेख छ।

सर्वोच्चले असार ३० गते सरकार र रिट निवेदक दुबै पक्षलाई छलफल गराई आदेश गर्ने भएको छ।

मन्त्रिपरिषद्को गत शुक्रबार निकासी पैठारी ऐन, २०१३ बमोजिमको पूर्व आदेशलाई स्थगन गर्ने निर्णय गरेको थियो। आदेशमा इनर्जी ड्रिंक, तरकारी र फलफूलमा विषादी परीक्षण गरी निकासी गर्ने लगायत बिषय उल्लेख रहे पनि कार्यान्वयन गर्नुको सट्टा स्थगन गरिएको बताउँदै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट महासचिव विष्णु तिमिल्सिना र सचिव कुमारी खरेलले रिट पेश गरेका थिए। यस्तै कञ्चनकृष्ण न्यौपाने र स्वागत नेपालले पनि सरकारको निर्णय रोक्न माग गर्दै अलग रिट दायर गरेका थिए।