सात करोडको सामग्रीसहित नक्कली पेनड्राइभ, मेमोरी कार्ड बनाउने गिरोह पक्राउ

प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६

ललितपुर :  सात करोडको सामग्रीसहित ललितपुरमा नक्कली पेनड्राइभ र मेमरी कार्ड बनाउने सात जना पक्राउ परेका छन् । ललितपुरको सानेपाबाट तीन भारतीयसहित सात जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक भएको खुलेको छ ।

मेसिन ल्याउने र अवैध रुपमा सामग्री उत्पादन गर्ने कार्यमा भारतीय नागरिक मोहन वंशल र गोविन्द वंशल रहेको खुलेको छ । उनीहरु दुबै दाजुभाई भएको समेत खुलेको प्रहरीले बताएका छन् ।

सानेपामा जेएसएस मोबाइल कलेक्सन सेन्टर खोलेर घरको कोठाभित्र मेसिनबाट सामसुङ कम्पनीको नक्कली पेनड्राइभ र मेमोरी कार्ड उत्पादन गर्दै आएको परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले बताए ।

धानुकका अनुसार चीनबाट मेसिन ल्याएर नेपालमा अवैध रुपमा उत्पादन गरिएका मेमोरी र पेनड्राइभमा सामसुङको होलोग्राम टाँसेर भारत र बंगलादेशमा निर्यात गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले दैनिक २५ लाख बराबरको सामग्री उत्पादन गर्ने गरेको एसएसपी धानुकले जानकारी दिए ।