बुहारीद्वारा सासुको हत्या

प्रकाशित मिति : बुधबार, साउन १, २०७६

काभ्रे : काभ्रेको धुलिखेलमा बुहारीद्वारा सासुको हत्या भएको छ । जिल्ला सदरमुकाम धुलिखेल नपा १ स्थित देविटार बस्ने बर्ष ६३ कि माईलीमाया तामाङलाई निजकी जेठी बुहारी बर्ष २४ कि सुन्तली तामाङले मंगलवार राती १० बजे घरेलु विषयमा आपसी विवाद हुँदा हत्या गरेकी हुन् ।

बुहारीले घरायसी वादविवादको कारण लछार पछार तथा कुटपिट गरी भुईमा पछार्दा सासुको टाउको र पेटमा गम्भिर चोट लागेको थियो । लगत्तै उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपामा ल्याइएकोमा ११ बजे राती नै उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमूख निरीक्षक निरञ्जन भट्टराईले घटनास्थलको अवलोकन गरी पीडित सासुको उद्धारको लागि आफूहरू गएको तर उपचारको क्रममा उनको निधन भएको जानकारी दिएका छन् ।

उनले घटनाबारे थप अनुसन्धान भईरहेको र पीडक बुहारी सुन्तली तामाङलाई नियन्त्रणमा लिईएको पनि बताए ।

उनले घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको समेत अनुसन्धान भईरहेको बताएका छन् ।