विमलाको हत्यारालाई मुद्दा चलाउनुपर्ने माग भन्दै विरोध

प्रकाशित मिति : बिहिबार, साउन २, २०७६

समता अस्पतालमा क्लिनरको काम गर्दै आइरहेकी विमला तामाङको हत्याराको कडा कारवाहीको माग गर्दै बिहिवार पनि माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।

दिउँसो १ बजे ‘हत्या’ गरिएकी विमलाका आफन्त र सरोकारवाल पक्षले विमलाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग गर्दै प्लेकार्ड र चर्का नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् । हत्यारालाई छुट नदिन पनि प्रदर्शनकारीले चेतानी दिएका छन् ।

विमला तामाङको हत्यारालाई जन्मकैदको सजायँ दिनुपर्ने र विद्यमान कानूनको पालना गर्न सरकारसँग माग समेत उनीहरुले मण्डलामा गरे । प्रदर्शनमा उत्रिएका आफन्तहरुले विमलाको मृत्यु आत्महत्या नभई अस्पताल संचालक र प्रशासनको मिलेमतोमा हत्या भएको जिकिर गरेका छन् । हत्यालाई आत्महत्या बनाएर मृतक र परिवारमाथि अन्याय थोपरिएको भन्दै उनीहरुले प्रदर्शनस्थलमा आक्रोश पोखे ।

काभ्रेको चौंरी–देउराली गाउँपालिका सोलम्बु माइती भई रामेछापको दोरम्बा गाउँपालिकास्थित दोरम्बाका बुद्धिराज तामाङसँग विहे गरेका विमला घटनाको करिब २ महिनाअघि मात्र अस्पतालमा क्लिनरको काममा लागेकी थिइन् ।

नियमित काम गरिरहेकै बेला गत असार ३ गते अस्पतालकै भुईतल्लाको एउटा कोठाभित्र बाहिरबाट ताल्चा लगाइएको अवस्थामा विमलालाई घाँटीमा पासो लगाई झुण्डिएको मृत अवस्थामा फेला पारिएको थियो । श्रीमान बुद्धिराजका अनुसार असार २ गतेबाटै घर नआएकी श्रीमतीलाई खोज्न अस्पताल पुगेपनि अस्पताल प्रशासनले घर जान भनेर हिँडिसकेका जवाफ दिएर फर्काइदिएको थियो । तर भोलिपल्ट ३ गते पुनः अस्पताल आएर आफन्तसहितले दबाब दिएपछि अस्पतालका कर्मचारीले आफूहरुसँग चाबी नभएको भनेर अघिल्लो दिन नखोलिएको कोठाको ताल्चा खोलेर हेर्दा झुण्डिएको अवस्थामा विमलालाई मृत अवस्थामा भेटिएको बुद्धिराजलगायत आफन्तहरुको भनाई छ । विमलाको गोजीबाट आत्महत्या व्यहोराको लिखित कागजको टुक्रा भेटिएको थियो ।

तर उक्त कागजमा आत्महत्या गर्नुको कारणमा अस्पताल प्रमुख संचालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारीद्वय तीर्थकुमारी श्रेष्ठ र संगिता केसीको नाम उल्लेख रहेको पाइएपछि विमलाको मृत्यु आत्महत्याबाट नभई उल्लेखित तीन जनाको योजनाबाट हत्या भएको आफन्तहरुले दाबी गर्दै दोषीमाथि कारवाहीको माग गर्दै आइरहेका छन् ।

घटनासँगै जोडिएको भन्दै प्रहरीले कला, तीर्थकुमारी र संगितालाई पक्राउ गरी महानगरीय प्रहरी गौशाला प्रभागको हिरासतमा राखी लामो समयसम्म अनुसन्धानपछि मुद्दा चलाएको थियो । शुरुमा तीनै जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारवाही चलाउने तयारी गरेको र त्यसको विरोध चौतर्फी रुपबाट हुन थालेपछि मुद्दा परिवर्तन गरिएको थियो ।

सोहीबीच हिजो बुधबार काठमाडौं जिल्ला अदालतले तीनै जनालाई दोषी ठहर गर्दै जनही ३ लाख रुपैयाँ धरौटी लिई छाडन आदेश दिएकोमा धरौटी रकम बुझाउन नसकेपछि हिजै जेल चलान गरिसकेका छन् । तैपनि विमलाको हत्या भएको जिकिर गर्दै दोषीलाई सामान्य कारवाही गरेर उन्मुक्ति दिन खोजिएको भन्दै आफन्त र सरोकारवाल पक्षले आज माइतीघर मण्डलामा हत्यारालाई जन्म कैद हुनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरु घटनाको निष्पक्ष छानबिन गर्न समेत माग गरे । हत्याबारे सत्यतथ्य पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन सघाउन भनी एक संघर्ष समिति समेत गठन गरिसकेका छन् ।

मृतक विमलाको ८ वर्षका एक छोरा छन् । श्रीमतीको हत्यारालाई कडा कारवाही नभएसम्म आफूहरु पछि नहट्ने र हत्यारा नदेख्ने राज्यको आँखा खुलाएरै छाड्ने अडान विमलाकी श्रीमान बुद्धिराजले दोहोर्याएका छन् । प्रदर्शनकारीे ‘पीडित परिवारलाई न्याय दे, घटनाको निष्पक्ष छानबिन गर, ज्यानमारालाई धरौटीमा छाड्न पाइँदैन, हत्यारालाई कारवाही गर, विमलालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । वक्ताहरुले विमलाको हत्यालाई नियोजित रुपमा आत्महत्यामा परिणत गर्न खोजेको र ज्यानमारालाई उन्मुक्ति दिने षडयन्त्र भइरहेको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न तत्काल पीडित पक्षका प्रतिनिधिसहितको टोली गठन गर्न माग गरे ।

यसअघि असार २४ गते हत्यारालाई छुटाउने षडयन्त्र भएको भन्दै कडा कारवाहीकोमाग गर्दै संघर्ष समितिले राजधानीमा एक पत्रकार सम्मेलन समेत गरिसकेका छन् । दोषीमाथि कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउनुपर्ने माग समितिको छ । पीडितले न्याय नपाएसम्म संघर्ष जारी राख्ने पनि प्रदर्शनकारीले बताए ।