सरकारी ढुकुटीमा ब्रम्हलुट : तीन दिनमा ७९ अर्ब रुपैयाँ निकासा

प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६

काठमाडौं – सरकारले पछिल्लो तीन दिनभित्र अस्वभाविकरूपले पुँजीगत खर्च वृद्ध गरेको छ । चालु आर्थिक वर्षभित्र भुक्तानी गरिएको पुँजीगत खर्चमा पछिल्लो तीन दिन अर्थात् असार २९, ३० र ३१ गते मात्रै ७९ अर्ब रुपैयाँ निकासा गरिएको छ।

असार मसान्त अर्थात् मंगलबार मात्रै २१ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ भुकतानी गरिएको छ। चालु आर्थिक वर्षमा तीन खर्ब १३ अर्ब ९९ करोड रुपैयाँको पुँजीगत खर्च विनियोजन गरिएको थियो। जसमा ७५।६६ प्रतिशत अर्थात् दुई खर्ब ३७ अर्ब ८० करोड १० लाख रुपैयाँ खर्च गरिएको छ। तर तीन दिनमा मात्रै ३७ अर्ब रुपैयाँ खर्च गरिएको छ। खर्च गरिएको रकमलाई आधार मान्ने हो भने तीन दिनको अवधिमा १५ प्रतिशत पुँजीगत खर्च सरकारले गरेको छ ।

अन्य ३६२ दिनमा ८५ प्रतिशत भएको छ। महालेखा कार्यालयको तथ्यांक विश्लेषण शाखाका अनुसार मंगलबार साँझ ९ बजेसम्म २१ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। जसमा पुँजीगत खर्च मात्रै १४ अर्ब ९ करोड ३१ लाख रहेको छ।

मंगलबारसम्म गरिएको पुँजीगत खर्चको आधारमा एक दिनमै ६ प्रतिश पुँजीगत खर्च भएको छ। वर्षको सबैभन्दा बढी खर्च भने सरकारले सोमबार गरेको महालेखा स्रोतले जानकारी दिएको छ । सोमबार भएको खर्चबारेमा महालेखाका अधिकारीहरू भने बोल्न चाहँदैनन्। ‘कति खर्च भएको छ भन्न सकिने अवस्था छैन, वेबमा समस्या आएको छ’ महालेखाका सूचना अधिकारी दिनेश रेग्मीले भने। तर दिनभर वेबबाट नै काम गरिए पनि सर्वसाधरणले हेर्न मिल्ने गरी तयार गरिएको रियल टाइम बन्द गरिएको थियो ।

रेग्मीका अनुसार हालसम्म भएको खर्च र उठेको राजस्वमा केही करोड तलमाथि अझै पर्न सक्छ। थाहा खबरका अनुसार चालु खर्चको पनि अन्तिम दिनमा पँजीगत खर्च मात्रै नभएर नियमित खर्चमा रुपमा भुक्तानी गरिने चालु खर्च पनि अन्तिम तीन दिनमा अत्यधिक भुक्तानी गरिएको छ।

३ दिनको अवधिमा २२ अर्ब भन्दा बढीको पुँजीगत खर्च गरिएको छ। असारमसान्तको दिन मंगलबार मात्रै सात अर्ब २४ करोड ९९ लाख रुपैयाँको भुक्तानी गरिएको छ। त्यस्तै आइतबार र सोमबार चालु खर्च बापतको १५ अर्ब रुपैयाँ खर्च गरिएको छ। त्यस्तै पछिल्लो तीन दिनमा वित्तीय व्यवस्थातर्फको खर्च २० अर्ब भुक्तानी गरिएको छ। वित्तीय व्यवस्थापन तर्फको खर्च भने धेरै वर्ष अन्त्यमा नै गरिने गर्छ ।