सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा दायर

प्रकाशित मिति : शनिबार, साउन ४, २०७६

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट एवं अभिनेता विजय लामाले नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। हवाई क्षेत्रको प्रमुख सरकारी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगम व्यवस्थापनलाई दबाब दिएर आफूलाई प्रवक्ता पदबाट हटाउन बाध्य पारेको भन्दै शुक्रबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

रिट निदवेनमा लामाले प्राधिकरणका वरिष्ठ क्याप्टेन डिआर निरौलासहितको टिमलाई विपक्षी बनाएका छन्। नेपाल एयरलाइन्सको विमान उडानमा रोक लगाउँदै ड्रागन एयरको विमानलाई विमानस्थल कार्यालयले उडान अनुमति दिएको विषयमा पाइलट लामाले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिको विषयमा प्राधिकरणले उनलाई कारबाही गर्न निगममा सिफारिस गरेको थियो। साथै उडानका क्रममा आफू शारीरिक र मानसिक रुपमा तनावमा रहेको अन्तर्वार्ता दिएपछि त्यसअघि स्पष्टीकरण समेत सोधिएको थियो।

त्यसपछि प्राधिकरणले नेपाल एयरलाइन्सले लामालाई पाइलट र प्रवक्तामध्ये एकमा मात्रै भूमिका दिने भन्दै निगमलाई पत्र काटेको थियो। प्राधिकरणले पत्रमा अन्यथा लामाको पाइलट लाइसेन्ससमेत सस्पेन्ड गर्ने चेतावनी समेत दिइएको थियो।

प्राधिकरणको पत्र लगत्तै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले उनलाई निगमको प्रवक्ताबाट हटाएका थिए। खरेल प्रधानमन्त्री ओली निकट मानिन्छन्। लामालाई प्रवक्ताबाट हटाएपछि ओली सरकारको कडा आलोचना भएको थियो।