उपत्यका विशेष ब्यूरो ईन्चार्ज माइला लामा गिरफ्तार, मध्यरातमै लगाए नारा

प्रकाशित मिति : आइतवार, साउन ५, २०७६

विशेष सुराकीको आधारमा गिरफ्तार गरिएको भनिएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं उपत्यका विशेष ब्यूरोका ईन्चार्ज माइला लामा ‘प्रज्वल’ले मध्यरात चर्का नारा लगाएको खुलेको छ । गिरफ्तार परेसँगै उनले सरकार र अहिलेका राज्यसत्ताका विरुद्ध चर्का नारा लगाएका थिए ।

शनिबारको मध्यरात १२ बजेको समयमा उनी बसिरहेको घरलाई सादाका पोशाकका हतियारधारी प्रहरीको टोलीले घेरा साँघुरो पार्दै लगेपछि उनी उम्किने सम्भावना न्यून बन्दैको र त्यसपछि उनी रहेको घरभित्र प्रहरी बसेर उनलाई निशस्त्र अवस्थामा गिरफ्तार गरिएको स्रोतले बताएको छ ।

गिरफ्तारका क्रममा माइलाले पार्टी र क्रान्तिको पक्षमा चर्को आवाजमा नारा समेत लगाएका थिए । उनलाई मध्यराति भक्तपुर र काठमाडौं जिल्लाको सीमाना पर्ने भक्तपुरको काँडाघारीबाट प्रहरीले गिरतफ्तार गरेको हो ।

गिरफ्तार परेलगत्तै उनले आफुलाई प्रहरीले गिरफ्तार गरेको र आफू विप्लव नेतृत्वको केन्द्रीय नेता तथा उपत्यकाका ईन्चार्ज भएको कुरा चर्को आवाजसाथ सुनाएका थिए । आफूलाई गिरफ्तार गरेको कुरा पत्रकार, मानवअधिकार तथा पार्टीलाई समेत जानकारी गराइयोस् भन्ने कुरा आम नागरिकलाई थाहा दिन चाहेको कुरा चर्को स्वरमा राखेको एकजना छिमेकीले अनलाइनपाना डटकमसँग बताए ।

‘अन्दजी रातको १२ बजेको थियो होला । म त अलिअलि निद्रामै थिएँ । त्यहीबेला छिमेकी टोलमा नारा लगाउँदै गरेको कोलाहल सुनियो’ उनले भने । ‘बिउँझिएँ, ध्यान दिएर सुन्दा पनि कोही पुरुषले मलाई प्रहरीले गिरफ्तार गरेको छ, पत्रकार, मानवअधिकार, सबै तपाई टोलवासीलाई थाहा होस्’ माइला लामाको भनाई उदुत गर्दै ति भने ‘म विप्लव नेकपाको उपत्यका ईन्चार्ज माइला लामा हुँ, पार्टीकै आदेशमा उपत्यका क्षेत्र हेर्दै आएको छु । सबैलाई जानकारी होस् ।’

गिरफ्तारलगत्तै लामाले चर्को स्वरमा ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, दलाल पूँजीवादी व्यवस्था मुर्दावाद’ जस्ता नारा लगाएका थिए । उनले आफू राजनीतिक प्राणी भएकोले बहस, जेल, संघर्षसँगका सधै तयर रहेको बताउँदै ‘वीर सहिद लालसलाम, एकीकृत जनक्रान्ति जिन्दावाद’ जस्ता नारा चर्कोसँग लगाएको कुरा उनले बताए । नारा लगाउँदा टोलै बिउँझिएको उनको भनाई छ । विप्लवका कार्यकर्ता कडा भएको अनुभूत आफू भएको समेत उनले सुनाए ।

मध्यरात सुनसान रहेकोले नाराबाजी र कोलाहाल टाढासम्म सुनिएको थियो । गिरफ्तारपछि आयतबार बिहान मात्र महानगरीय प्रहरी काठमाडौंको परिसर टेकु पुर्याइएका लामालाई आजै म्याद थपको लागि अदालत उपस्थित गराउने तयारी गरिएको बुझिएको छ । परिवारबाहेक लामालाई कसैसँग भेट गर्न दिइएको छैन । भेट गर्न आइतबार बिहान टेकु परिसर पुगेका पत्रकार र मानवअधिकार टोलीलाई नदिइएको परिवार स्रोतले जानकारी दिएको छ ।

नेता लामा जनयुद्धकाल प्रभावशाली नेता समेत हुन् । उनी जनवादी गीत र संगीतका चरनाकार हुन् भने दर्जनौं जनवादी गीत चर्चित छन् । ४५ वर्षीय लामा काठमाडौंको नागर्जुन नगरपालिका–१० भीमढुंगा थाप्लेका बासिन्दा जीतबहादुर लामा छोरा हुन् । उनलाई प्रहरीले गत फगुन १० को नख्खु विष्फोट घटनादेखि फरार सूचीमा राखेर खोजी गरिरहेको थियो ।

लामा यसअघि २०७३ मा पनि गिरफ्तार परी तीन दिनसम्म काठमाडौं तीनकुने प्रहरी वृत्त परिसरको हिरासत बसाइपछि रिहा भएका थिए । जनयुद्धका घाइते समेत हुन् उनी ।