माइला लामालाई नख्खु कारागार चलान

प्रकाशित मिति : बुधबार, साउन ८, २०७६

शनिबार मध्यरात भक्तपुरको काँडाघारीबाट गिरफ्तार गरिएका विप्लव नेतृत्वको केन्द्रीय सदस्य एवं उपत्यका विशेष ब्यूरो इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको छ ।

आज ललितपुर जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतको आदेशमा नेता लामालाई जेल (कारागार) जेल चलान गरिएको हो । उनलाई गत फागुन १० गते साँझ एनलेसको मुख्यालय रहेको नख्खुस्थित कार्यालय परिसरमा बम विष्फोट घटनामा संलग्न रहेको अभियोग लगाइएको थियो ।

उनलाई बयानका लागि हिजो र आज दुई दिन जिल्ला अदालत लगनखेलमा उपस्थित गराइएको थियो ।

यसअघि गत चैत ८ गते काभ्रेबाट गिरफ्तार सोही पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित चार जना सोही अभियोगमा पुर्पक्षका लागि जेठ १० गतेबाट सोही कारागरमा बन्दी छन् ।

आजकाे बहस माइला लामामाथिको अभियोग कर्तव्य ज्यान र राजद्रोहसम्बन्धी थियो ।

बहसमा अभियुक्तको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अभिवक्तहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगानालगायतले बहस गरेका थिए ।

त्यसैगरी आजै सर्वोच्च अदालतमा भएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहसपछि रिट जारी भई रिहा भएका विप्लव नेतृत्वकै नेकपा पोलिट ब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’लाई रिहालगत्तै सर्वोच्च अदालत परिसरबाटै महानगरीय प्रहरी काठमाडौं परिसर टेकुबाट आएको हतियारधारी प्रहरीको टोलीले पुनः गिरफ्तार गरी परिसर लगेको छ । यसबाट अन्यत्र कहाँ लैजाने हो केही बताएको छैन ।

कार्की संगपठत अपराध र आगजनी अभियोगमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा बन्दी बनाइराखिएका थिए । रिटमाथि बहसका लागि उनलाई आजै सर्वोच्चको आदेशमा बहसमा उपस्थित गराइएको थियो ।