राष्ट्रिय झन्डा (छन्द कविता)

प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६

      राष्ट्रिय झन्डा                                                                                                            ऋषिराम कँडेल

रातो रङ्ग गमक्क अङ्ग जसको नीलो किनारासित ।
साथडै चन्द्र र सूर्यको नछुटने मायाँ सधैँ मै सित ॥
जोडा त्रीभुजको छ हात बलियो हल्लाउँदै नाच्छु म ।
झन्डा राष्ट्रिय राष्ट्रको सु-गरिमा सम्झाउँदै बाँच्छु म ॥

 

मेरो जन्म स्व-राष्ट्रको सँग भयो ठूला सुकर्मादिले ।
मेरो जीवन यो स्व-राष्ट्र हितमा बाँच्ने त हो कर्मले ॥
बाँचेसम्म स्व-राष्ट्रको ढुकढुकी मै बाँचुला ढुक्क भै ।
भत्के राष्ट्र मरे उसै म मरुँला पल्टेर खुत्रुक्क त्यैँ ॥

 

मैले हाँस्छु मुसुक्क देश जनता नेपाल हाँसी दिए ।
मेची-कालि हिमाल फाँट सबले सद्भाव गाँसी दिए ॥
हावा घाम बतास मेघ जलका वर्षा मिले हाँस्छु म ।
नेपाली वनका सबै सु-मनका हाँगा फुले हाँस्छु म ॥

 

यो ठूलो घर देशबासिहरुको साझा रहे सम्मन ।
साझा सम्मत राष्ट्रको जिजिविषा ज्यूँदो रहे सम्मन ॥
नेपाली इतिहासको महक जो मीठो रहे सम्मन ।
झन्डा मै पनि बाँच्नु हो गहकिलो श्रद्धा रहे सम्मन ॥

 

श्रद्धाले भगवान वास गरने ढुङ्गाहरुमा पनि ।
श्रद्धाले जल हुन्छ शुद्ध धमिलो पानी भए तापनि ॥
श्रद्धाले त चढे हिमाल चुचुरा यात्रा कठीनै गरी ।
श्रद्धा नै सबथोक हो विजय हो विश्वास आस्था भरी ॥

 

ऐले मानिसको विचार अलि क्यै अर्कै भएको छ झैँ ।
आस्था खल्बलिँदो कतै अलमली अर्कै भएको छ झैँ ॥
झन्डाका हतियार ती किसिमका बोकेर लड्छन् अझै ।
बण्डा भाग गरौँ भनेर कतिले चिच्याउँदै छन् कतै ॥

 

टुक्रयाई कन देश शेष त्यसको टीको लिने सुर के ।
टीके ठालू कुनै बनेर हचुवा भाले हुने सूर के ॥
माली यो बरु राष्ट्रको बनिदिए स्यावास हो जन्मको ।
जस्को अङ्ग-प्रत्यङ्ग श्वास सब हो यै राष्ट्रको गन्धको ॥

 

नाना सङ्घ र सङ्गठन जुन तिनी झन्डा लिएका हुनन् ।
झन्डा राष्ट्रिय यो भएर त तिनी ज्यूँदा रहेका हुनन् ॥
यस्कै श्वास-प्रश्वासमा छ तिनको आयू टिकेको सधैँ ।
यस्कै हो उपहार आज सबका ढोका खुलेका अझै ॥

 

बन्नै पर्दछ नै अनेक थरका झन्डा सबैका पनि ।
भन्नै पर्दछ सङ्घ–सङ्गठन ती आफ्ना गुनासा पनि ॥
राख्नै पर्दछ मध्यमा सकलाका झन्डा त यो राष्ट्रकै ।
जोगिन्छन् सबका भए अटलमा अस्तित्व यो राष्ट्रकै ॥

 

तस्मात् बिस्रन हुन्न राष्ट्र सबले झन्डा छ जो राष्ट्रको ।
टुक्रा पार्नु हुँदैन देश जनता सद्भावना आत्मको ॥
मात्रै यो कपडा नसम्झ महिमा ठूलो छ झन्डा छ जो ।
ठूलो छैन मनुष्य मात्र जसमा ठूलो त यो राष्ट्र हो ॥

 

छन्दः शार्दूल विक्रीडित म स ज स त त गु
१९ अक्षर ऽऽऽ.ऽ॥.ऽ।ऽ.।ऽऽ.॥ऽ.ऽ॥.ऽ १२।७ मा विराम
कवि स्रष्टाः कपिलवस्तुका छन्द गुरू हुनुहुन्छ ।
मोतीपुर-५, चप्परगाउँ कपिलवस्तु ।